दुई अमेरिकी सैन्य अड्डामा इरानद्वारा क्षेप्यास्त्र आक्रमण: मानवीय क्षति नभएको अमेरिकाको दाबी

बिबिसी । इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौं बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनेरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो ।
पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल–असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार भएको हो ।
मानवीय क्षतिका सम्बन्धमा भने पेन्टागनले केही भनेको छैन ।
‘हामीले इराकस्थित अमेरिकी आधार शिविरहरूमा भएका हमलाबारे थाहा पाएका छौँ । राष्ट्रपतिलाई सूचित गरिएको छ र उनी आफ्नो राष्ट्रिय सुरक्षा समूहसँग समन्वयमा छन्,’ ह्वाइट हाउस प्रवक्ताले एक विज्ञप्तिमा भनेकी छन् ।
गत शुक्रवार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उच्च भएको छ ।
इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ ।
उसका अनुसार ती क्षेप्यास्त्रहरू इरानबाटै प्रहार गरिएका हुन् ।
अमेरिकी रक्षा अधिकारीहरूले त्यस क्षेत्रमा रहेका अमेरिका र उसको साझेदारहरूका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन् ।
इरानको रिभोलुसनरी गार्डस्‌ले पनि उक्त हमलालाई आफ्ना सैन्य जेनेरलको हत्याको बदलाका रूपमा अर्थ्याएको छ ।

Post a Comment

0 Comments