संसद् अधिवेशन आजबाट : उपसभामुखले नै अध्यक्षता गर्ने

काठमाडौं, ४ पुस । उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन्। सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन।
संविधानको धारा ९१ को उपधारा (४) मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था छ। प्रतिनिधिसभा नियमावलीमा भने बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ। संसदीय अभ्यास पनि बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्दै आएको अवस्था छ।
यस्तोमा उपसभामुखले अध्यक्षता गर्ने कि नगर्ने भन्ने अन्योल थियो। तर शुक्रबार सुरु हुन लागेको संसद् अधिवेशनको अध्यक्षता उपसभामुखले नै गर्ने टुंगो लागेको उनको सचिवालयले जनाएको छ।
नियमावलीभन्दा संविधान माथि हुने भन्दै उपसभामुखलाई अध्यक्षता गराउन सत्तासीन नेकपा तयार भएको हो। संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी उपसभामुखले अध्यक्षता गर्दा कुनै बाधा नपर्ने तर्क गर्छन्।
‘संविधानभन्दा नियम ठूलो हुन्न,’ उनी भन्छन्,‘सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्न पाउने संवैधानिक व्यवस्थाअनुसार अघि बढ्दा कुनै बाधा छैन।’
संविधानअनुसार नियमावली बनाउन नसक्नु प्रतिनिधिसभाको कमजोरी भएको सांसदहरू बताउँछन्। राष्ट्रियसभाले अध्यक्ष नभएको अवस्थामा उपाध्यक्षले बैठकको अध्यक्षता गर्न पाउने व्यवस्थासहित नियमावलीमा संशोधन गरिसकेको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

Post a Comment

0 Comments